७ मंसिर २०८१, शुक्रबार

एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४

प्रकाशित मिति :  18 August, 2024 12:17 pm


काठमाडौँ । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को सम्पन्र भएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर साउन ३२ गते शुभारम्भ भएको एक्जिबिट हिजाे चर्चित गायिका एलिना चौहानको प्रस्तुतीसँगै सम्पन्र भएको छ ।

पहिलो दिन शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए । कार्यक्रमको अतिथिहरूमा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा. देवीप्रसाद भट्टराई, पूर्वमन्त्री गणेश साह, नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठ, नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दार लगायत रहेका थिए ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले यो प्रदर्शनीले किताबी ज्ञान मात्रै नदिएर व्यवहारिक ज्ञान दिने बताए । “किताबले सैद्धान्तिक ज्ञान दिन्छ, त्यो पनि चाहिन्छ तर त्यो कुरालाई ब्यबहारमा उतार्न र प्रयोग गर्न कति जटिल छ भन्ने ज्ञान यस्ता प्रदर्शनीले दिन्छ”उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा.देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई सुधार गरेको उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सकिएको ९० दिनमा परीक्षाफल प्रकाशित गर्छौं भनेर लिखित प्रतिबद्धता व्यक्त गरेका छौं”, उनले भने, “कक्षा सञ्चालनलाई पनि कसरी छरितो बनाउन सकिन्छ त्यो काम हामी गरिरहेका छौं ।”

पूर्वमन्त्री गणेश साहले यस्तो प्रदर्शनी गर्न र यसबाट प्रभाव पार्न एउटा इको सिस्टम बनाइदिन सरकारसँग आग्रह गरे । यस्ता प्रदर्शनीलाई कलेजभित्रमात्रै सीमित नगरेर बाहिर सार्वजनिक गर्न पनि आवश्यक रहेको उनले बताए । उनले भने, “२०औं प्रदर्शनीलाई ग्राण्ड बनाउनुहोस् ।” यो प्रदर्शनी विद्यार्थीको ज्ञान निखार्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठले वार्षिक रुपमा कलेजले आयोजना गरिरहेको प्रदर्शनीले विद्यार्थीहरुले धेरै कुरा सिक्ने र व्यवहारमा आइपर्ने धेरै समस्या समाधानका लागि तयार हुने बताए ।

नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दारले यो प्रदर्शनी विद्यार्थीले कसरी पढिरहेका छन् त्यो अन्य कलेजका विद्यार्थी, अभिभावक र समाजलाई देखाउने माध्यम भएको बताए ।

प्रदर्शनीमा २ हजार भन्दा बढि अवलोकनकर्ताले भ्रमण गरेको पनि उनले बताए । कलेजका म्यानेजिङ डाइरेक्टर डा. प्रल्हाद कार्कीले अनपेक्षित सफलता प्राप्त भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !