११ कार्तिक २०८१, आइतबार

चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै

प्रकाशित मिति :  18 August, 2024 1:44 pm


काठमाडाैँ । तेजाव आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्र आगामी शुक्रवारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । वीरगञ्जमा आइतवार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराए । निर्देशक ढुङ्गानाका अनुसार चलचित्रले विशेष गरी तेजाव आक्रमणबाट पीडित भएकाहरूको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ ।

उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रूपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रस्तुत गरिएको बताए । ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुङ्गानाले बताए ।

चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ । जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् ।

३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ । फिल्मलाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताए ।



प्रतिक्रिया दिनुहोस !