१३ मंसिर २०८१, बिहिबार

राष्ट्रिय एकता भाँड्ने प्रयास चिर्न खेलाडीलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति :  18 August, 2024 4:40 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरूलाई आग्रह गरेका छन् ।

नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरूले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिए ।

“यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो । प्रधानमन्त्री ओलीले भने, “हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।”

उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !