देशभर ९८.४ प्रतिशत धान रोपाइँ, मधेस प्रदेशमा सबैभन्दा कम
काठमाडौँ । देशभर खेतीयोग्य जमिनमध्ये ९८.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर कुल १३ लाख ९८ हजार ९८५ हेक्टर धान उत्पादन हुने खेत रहेकोमा भदौ १ गतेसम्म १३ लाख ७७ हजार २१६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यस अवधिसम्म ९२.४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।
मधेस प्रदेशमा सबैभन्दा कम ९७.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो प्रदेशमा सबैभन्दा बढी ३ लाख ८७ हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । सोमध्ये हालसम्म ३ लाख ७५ हजार ६१४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
सुदुरपश्चिममा १००, कर्णालीमा ९९.२ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै कोशी प्रदेशमा ९९.१ वाग्मतीमा ९९.२, गण्डकीमा ९७.८ र लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सातै प्रदेशको यस वर्षको धान रोपाईँको अन्तिम तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।