कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्याउने काम क्षम्य हुँदैनः मन्त्री खड्का
काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्याउने काम क्षम्य नहुने बताएका छन्।
आइतवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताए ।
अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरू समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताए । उनले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताए । उनले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताए ।
मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए । उनले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताए। सरकारले कम्पनी बनाएर व्यापार गर्ने भए निजी क्षेत्र किन चाहियो ? भन्दै प्रश्न गरे ।