१३ मंसिर २०८१, बिहिबार

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः उपप्रधानमन्त्री पौडेल

प्रकाशित मिति :  19 August, 2024 12:42 pm


काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।

काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताएका हुन् ।

उनले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताए । उनले सरकारले लिएका नीतिहरूका कारण शेयर बजार उत्साहित रहेको बताए । उनले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताए । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताए ।

उनले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताए ।

वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !