सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नूः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताएका हुन् ।
नेवाः सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे । जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो ।
उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए। उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए।
त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवाः समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भुमिकाको पनि खुलेर प्रशंशा गरे ।