१३ मंसिर २०८१, बिहिबार

सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ: उपराष्ट्रपति यादव

प्रकाशित मिति :  19 August, 2024 5:09 pm


काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका हुन् । उनले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताए ।

उनले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रूपमा स्वीकार गरिएको उल्लेख गरे । उनले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी काम, कारबाहीहरुलाई पारदर्शी बनाउने पनि बताए । उनले सूचनाको हकले सरकारी अधिकारीहरूलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने बताए ।

उपराष्ट्रपति यादवले राष्ट्रिय सूचना आयोगको प्रयासबाट नेपालमा सूचनाको हकले भ्रष्टाचारको खुलासा, सार्वजनिक सेवाहरूमा सुधार, नीतिहरूमा पारदर्शिता, सामाजिक न्याय र सशक्तिकरणमा सहयोग पु¥याएको बताए ।



प्रतिक्रिया दिनुहोस !