१३ मंसिर २०८१, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको शिष्टाचार भेट

प्रकाशित मिति :  20 August, 2024 7:30 am


काठमाडौँ। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन्। 

भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने विषय बारे छलफल भएको छ।

भारतका विदेशमन्त्रीको निमन्त्रणमा भदौ ६ गतेसम्म देउवा भारतमा हुनेछिन्। भ्रमणका क्रममा उच्चस्तरिय भेटघाट तथा दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहयोग आदानप्रदानका लागि देउवाले कुरा गरिरहेकी छिन्। 

प्रधानमन्त्री माेदीसँग भेट हुनु अघि भ्रमणको पहिलो दिन भदौ ३ गते दुबै देशका परराष्ट्रमन्त्री स्तरिय भेटवार्ता भइसकेको छ ।

भेटमा द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गरिएको थियो । 

नेपालले अब करीब एक हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा भएको छ । 

दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारेमा समीक्षा गरेका थिए । दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अवसरहरुका बारेमा पनि दुवै देशका परराष्ट्रमन्त्रीबिच छलफल भएको हो । 

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको चर्चा गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको छ । 

गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीका रुपमा नेपाल र भारतको सम्बन्ध परापूर्व कालदेखि नै रहको छ।

भेटघाटका क्रममा दुईदेखि बिचको सहकार्यले भारतको सहयोेगको समिक्षा गर्दै पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ । 

भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदारका रुपमा लिइएको भारतीय अधिकारीहरुको भनाइ छ ।

भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको भनाइ भारतीय पक्षको छ ।  



प्रतिक्रिया दिनुहोस !