१ आश्विन २०८१, मंगलबार

लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी सुविधा लिँदै

प्रकाशित मिति :  20 August, 2024 12:35 pm


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीले जाँदाजाँदै गरेको निर्णयका कारण प्रदेश सरकारलाई आर्थिक भार थपिदै गएको पाइएको छ ।

केसीको कार्यकालको पूर्वसन्ध्यामा मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो सुविधा पूर्व मन्त्रीहरु र पूर्व समामुखले लिइरहेको स्रोतको भनाइ छ।

कार्यकाल सकिएको दश वर्षसम्म सुविधा लिन पाउने गरी कार्यविधि बनाइ लागू गरिएको स्रोतले बताएको छ। यस विषयमा खुलेर बाहिर काेही बाेल्न नचाहे पनि पनि वर्तमान मन्त्रीपरिषद् सदस्य र सत्तारुढ दलभित्र बिबाद चुलिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव सूचना अधिकृत मोहन अर्यालले भने मन्त्रीपरिषद्को बैठकले प्रदेशका निवर्तमान मुख्यमन्त्री र निवर्तमान सभामुखलाई सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको बताए ।

“प्रदेश सरकारको मन्त्रीपरिषद्को मिति २०७९ भदौ ३१ गतेको बैठकले पूर्व विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सेवासुविधाका बारेमा निर्णय गरेको थियो”, सूचना अधिकृत अर्यालले भने, “पूर्व विशिष्ट पदाधिकारीभित्र निवर्तमान मुख्यमन्त्री र निवर्तमान सभामुख रहने व्यवस्था रहेकोे छ ।”

विशिष्ट पदाधिकारीले प्राप्त गर्ने सुविधाका बारेमा उनले खुलाउन नचाहे पनि गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा प्रदेश सरकारले उपलब्ध गराउँदै आएको छ । ढुकुटीमा रकम रित्तिँदा लुम्बिनी प्रदेश सरकार टाट पर्ने अवस्था आइँरहँदा सुविधाको दुरुपयोग भएको खुलेको हो ।

नियम विपरीत पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा
मन्त्रीपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री र सभामुखलाई मात्र विशेष सुविधा प्रदान गर्ने निर्णय गरे तापनि प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, लिला गिरीले समेत उक्त सुविधा लिँदै आएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरी र निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले समेत उक्त सुविधा लिँदै आएका छन् ।

निवर्तमान सभामुख घर्तीले लिए दोहोरो सुविधा
प्रदेश सरकारका सभामुख पूर्णबहादुर घर्तीले संघ सरकार र प्रदेश सरकारबाट दोहोरो सुविधा लिइरहेको खुल्न आएको छ । प्रतिनिधि सभाका सदस्य घर्तीले पूर्व सभामुखका रुपमा प्रदेश सरकारबाट लिँदै आएको सुविधा फिर्ता नगरी संघ सरकारबाट समेत दोहोरो सुविधा लिइरहेको खुलेको हो । घर्तीले प्रदेश सरकारबाट गाडी, इन्धन, पिएसओ, मर्मतलगायतका सुविधा निरन्तर रुपमा लिँदै आएका छन् ।

सम्बन्धित समाचारः



प्रतिक्रिया दिनुहोस !