सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह
प्रकाशित मिति : 21 August, 2024 12:02 pm
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलका क्रममा उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए । उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए।
उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए । उनले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए ।