वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेको होः गृहमन्त्री
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन् ।
सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुग्नुभएका उनले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताएका हुन् । उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई द्रुत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।
उनले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे । उनले गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए।
नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए ।
प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू हुने उनको दाबी छ ।