एसपीपीबारे कुनै प्रस्ताव आएको छैनः प्रधानमन्त्री ओली
काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको सम्बन्धमा कसैसँग कुराकानी नभएको स्पष्ट पारेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गत श्रावण ३२ गते अमेरिकी डिपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एण्ड रिसोर्सेज रिचर्ज आर वर्मासँगको आफ्नो शिष्टाचार भेटमा एसपीपी सम्झौताको सम्बन्धमा कुनै कुराकानी नभएको स्पष्ट पारेका हुन् ।
उनले एसपीपी सम्झौता अगाडी बढाउनुपर्छ भनेर सरकारलाई कसैले नभनेको बताए । उनले एसपीपीको बारेमा कुनै प्रस्ताव कतैबाट नआएको बताए । उनले भने,”एसपीपी जस्ता अरु कुराहरूमा चर्चा नभएको म सदनलाई जानकारी गराउन चाहन्छु । एसपीपी पहिले एकपल्ट चर्चा सम्म चलेको हो । त्योभन्दा अगाडी बढेको थिएन । अहिले बढाउनुपर्छ भनेर पनि कसैले भनेको छैन । कुनै प्रश्ताव पनि कतैबाट आएको छैन । त्यो कुरा म बताउन चाहन्छु ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शंका नगर्न आग्रह गरे । उनले सरकारले राष्ट्रिय हितको प्रश्नमा कुनै सौदाबाजी नगर्ने बताए ।