भारत भ्रमणबाट फर्किएपछि परराष्ट्रमन्त्री राणाले भनिन्ः सफल र फलदायी भयाे
काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् ।
बिहीवार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ आइपुग्नेकी छन् । सो अवसरमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको दाबी गरिन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गरिन् ।
उनले भ्रमणले दुई मुलुकबीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याएको दाबी गरिन् । उनले भ्रमणले आगामी दिनमा उच्च तहमा सम्पर्क बिस्तार गर्न तथा दुईपक्ष संयन्त्रहरू र आपसी हितका लागि सहयोग सहकार्य प्रवद्र्धन गर्न सहयोग पुग्ने बताइन् ।
उनले भारतका प्रधानमन्त्री मोदीसँगको वार्तामा व्यापार,पारवहन,ऊर्जा,प्रविधि,लगानी,हवाई मार्ग,बाढी तथा डुबान समस्या,पञ्चेश्वर बहुउद्देश्य आयोजना,खेलकुद र सीमा पूर्वाधारका विषयमा कार्यान्वयन गर्दै लैजाने समझदारी भएको बताइन् ।