संक्रमणकालीन न्याय टुंग्याउन नसके मुलुक अघि बढ्न सक्दैनः सांसद भुसाल
प्रकाशित मिति : 22 August, 2024 5:33 pm
काठमाडाैँ ।नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय सभा सांसद डा.वेदुराम भुसालले संक्रमणकालीन न्यायलाई अब पनि टुंग्याउन नसके मुलुक र समाजलाई अघि बढाउन नसकिने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । कानून बनेको एक दशकसम्म काम गर्न नसक्नु विडम्वनापूर्ण रहेको बताए ।
संशोधनमार्फत सर्वसम्मतिले गइसकेपछि अब पनि असहमति हुनु नहुने बताए । उनले कानूनलाई अब पनि अघि बढाउन नसके फेरि पनि शान्ति प्रक्रिया टुंगिन नसक्ने बताए । सांसद भुसालले प्रतिनिधि सभामा भएको छलफल र राजनीतिक दलहरूबिच भएको सहमतिलाई विश्वास गरेर राष्ट्रिय सभाबाट पारित गरिएको बताए ।