१३ मंसिर २०८१, बिहिबार

साफ यु–२०ः सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि तयार छौं– नेपाल

प्रकाशित मिति :  23 August, 2024 6:57 am


काठमाडौँ। बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा जुन सुकै टोली आएपनि चुनौती सामना गर्न तयार रहेको बताएका छन्।

समूहको अन्तिम खेलमा बंगलादेशमाथि २–१ को जित निकाल्दै नेपाल समूहविजेता बन्यो । तर सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भने टुङ्गो लागेको छैन ।

भारत र माल्दिभ्सबीच शुक्रवारको खेलपछि मात्र नेपालको प्रतिद्वन्दी टुङ्गो लाग्नेछ । जितपछि नेपालका प्रशिक्षक श्रेष्ठले सबै टोली बलिया नै रहेकाले सेमिफाइनलमा जो कोही आएपनि चुनौती सामना गर्न नेपाल तयार रहेको प्रतिक्रिया दिए।

उनले बिहीवारको खेलमा जित्नैपर्ने दबाबमा रहेको र शुरुवातमा अग्रता लिने योजना पनि सफल भएको उल्लेख गरे। तर आफूहरूले दुई गोल गरेपछि भने बंगलादेशले रणनीति परिवर्तन गर्दै चुनौती दिएको भनाइ उनको छ।

दोस्रो हाफमा नेपालले पनि मिडफिल्डमा होल्ड गर्दै उनीहरूको योजनालाई सफल हुन नदिएको उनले उल्लेख गरे । प्रशिक्षक श्रेष्ठले बंगलादेशी डिफेन्डर शारीरिक रूपमा उचाई भएकाले केही चुनौती भएको पनि बताए।

उनले सेमिफाइनलमा भारत, माल्दिभ्स या भुटान जुनसुकै प्रतिद्वन्द्वी भएपनि चुनौती सामना गर्न तयार रहेको बताए। नेपालका कप्तान कुशल देउवाले पनि सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वीलाई हराउने आफ्नो टोली सक्षम रहेको धारणा राखे।

अहिले खेलाडीको मनोबल उच्च रहेको पनि उल्लेख गर्दै नतिजाले खुशी रहेको र अब आगामी खेलमा ध्यान दिने कप्तान देउवाले बताए। उनले आगामी खेलमा राम्रो नजिता ल्याएर फाइनल जित्ने लक्ष्य रहेको विश्वास व्यक्त गरे।

बंगलादेशका प्रशिक्षक मरुफुल हकले आफ्ना खेलाडीले सुरुआतमा राम्रोसँग ध्यान नदिँदा समूहविजेता बन्न नसकेको बताए। यदि उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा आएको हो भने सेमिफाइनलमा जुनसुकै टोली भएपनि केही फरक नपर्ने प्रतिक्रिया दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !