यो सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन,दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन् ।
शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै मन्त्री लेखकले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बताए ।
उनले भने,”अहिले मुलुकमा दुई ठूला राजनीतिकक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ । नयाँ राजनीतिक समीकरण बमोजिम नै नयाँ सरकार गठन भएको छ । यो सरकार बनाउनकै लागि मात्र बनाइएको गठबन्धन, सरकार होइन ।”
गृहमन्त्री लेखकले सरकार अस्थिर बन्दा प्रत्यक्ष सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिहरु अगाडी बढ्न नसक्दा देशको अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको बताए ।
राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको हुँदा अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ सरकार बनेको लेखकले स्पष्ट पारे ।
उनले भने, “मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ । अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन ।”
गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताए।