१३ मंसिर २०८१, बिहिबार
राजनीति

मुकुलको स्पष्टीकरण: रविले भ्रष्टाचार र राहदानी दुरुपयोग गरेको प्रमाणित गर्न सक्छु

प्रकाशित मिति :  23 August, 2024 11:14 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन् ।

पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफमा उनले लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

“मैले पत्र संख्या ०८१\८२ च.नं. ०५७ मिति २०८१\०५\०५ को पत्रमा भनिएअनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु। तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,” उनले जवाफमा भनेका छन्।

आफैँ ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगका संलग्न भएका लामिछानेले आफूमाथि दुराशय राखेर कारबाहीको प्रक्रिया थालेको मुकुलको दाबी छ । उनले रविमाथि सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएको तर्क पनि गरेका छन् ।

“सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनुभयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टीविपरीत होइन,” मुकुलले लेखेका छन्,”यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नुभएको छ ।”

पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !