२७ भाद्र २०८१, बिहिबार

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  23 August, 2024 5:47 pm


काठमाडाैँ । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरुको बलो बजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए ।

त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सभापति खानले चिनीलगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

बैठकमा सांसदहरूले खाद्यबस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द बरालीले उपभोक्ताको ज्यानै जाने भएकाले सरकारले खाद्य वस्तुमा हुने मिसावट नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताए । उनले बजारमा खाद्य बस्तुको अभाव हुन नदिनेगरी सरकारले बजारको अनुगमनको काम गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले विचौलियाहरुले बजारको रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । उनले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनेपर्ने बताए ।

सांसद अर्यालले बजारमा आम उपभोक्तामाथि ठगी गर्ने काम चाडबाडका बेला बढी हुने भएकाले त्यसमा पनि सरकारले कडा निगरानी राख्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !