२७ भाद्र २०८१, बिहिबार

माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान

प्रकाशित मिति :  23 August, 2024 6:40 pm


काठमाडाैँ । माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रवार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । यो नतिजासँगै जारी च्याम्पियनसिपमा घरेलु टोली नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्दी पायो । नेपालले समूह ‘बी’ को उपविजेता भुटानसँग खेल्ने भएको हो । समूह ‘ए’ विजेता भारतले भने बंगलादेशलाई प्रतिद्वन्दी पायो ।

पहिलो सेमिफाइनलमा नेपालले अगस्ट २५ मा भुटानसँग आगामी खेल्नेछ । दोस्रो सेमिफाइनल अगस्ट २६ मा भारत र बंगलादेशबिच हुनेछ । सेमिफाइनलमा स्थान बनाउन जित्नैपर्ने खेलमा माल्दिभ्स भारतसँग पराजित भएको हो । भारतलाई भने बराबरीको नतिजा पनि पर्याप्त थियो ।

इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै भारतले माल्दिभ्समाथि १–० को नतिजासँगै तीन राष्ट्र सम्मिलित समूहमा सतप्रतिशत जित निकाल्यो । भारतका माङ्लेनथाङ किपजेनले गरेको गोल नै भारतलाई जित दिलाउन पर्र्याप्त बन्यो । जितपछि भारत दुई खेलबाट ६ अंक बटुल्दै समूह विजेता बन्यो । समान खेलबाट एक जित निकालेको भुटान तीन अंकसहित उपविजेता माल्दिभ्स जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो ।

त्यसअघि १८ औं मिनेटमा भारतले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । कोरोउ सिंहले दिएको कट पासलाई गोल लाइननजिक अनमार्कमा मोनिरूल मोल्लाले गरेको प्रहार पोस्टको दिशा लिन सकेन । १४ औं मिनेटमा सुरजकुमार सिंहले पनि अग्रता दिलाउन सकेन । कर्नर प्रहारबाट प्राप्त बललाई उनको फ्रिहेडर दोस्रो बार हुँदै बाहिरिन पुग्यो ।

२२औं मिनेटमा मोनिरूलको अर्को प्रयास पनि सफल भएन । माल्दिभ्सका डिफेन्डरलाई बिट गर्दै कोरोउले दिएको उत्कृष्ट कट ब्याक पासमा अनमार्क मोनिरुल नजिकै दूरीबाट गोल गर्न असफल भए । त्यसपछि पनि केही अवसर सिर्जना भएपनि गोलमा परिणत भएन र पहिलो हाफ बराबरीमा नै सकियो ।

दोस्रो हाफको सुरुआतमै भारतले अर्को मौका सदुपयोग गर्न सकेन । माङ्लेनथाङ किपगेनले माल्दिभ्सका चार डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काउँदै दिएको बललाई अनमार्कमा केल्भिन सिंहले प्रहार गरेका थिए । तर, उनले प्रहार गरेको बार माथिबाट अकासियो । माल्दिभ्सले पनि ६५ औं मिनेटमा अग्रता बनाउने प्रयास सफल भएन । रसाद साननले प्रहार गरेको फ्रिकिक बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो ।

निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहँदा माल्दिभ्सले अर्को मौका पुनः गुमायो । हसन मुजधानले प्रहार गरेको बल पोलमा लागेर बाहिरियो । तर इन्जुरी समय सकिन लाग्दा भारतले गोल गर्दै माल्दिभ्सको बराबरी गर्ने योजना पनि सफ हुन दिएन । माङ्लेनथाङ पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सका गोलकिपरले छोए पनि रोक्न भने सकेनन् ।



प्रतिक्रिया दिनुहोस !