१४ मंसिर २०८१, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमी पर्व, विष्णुका अवतार कृष्णको पूजाआराधना गरेर मनाइँदै

प्रकाशित मिति :  26 August, 2024 6:53 am


काठमाडौँ। आज श्रीकृष्णजन्माष्टमी । विश्वभर छरिएर रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘भगवान् श्रीकृष्णको पूजाआराधना गरी दिवस मनाउँदैछन्।

अन्याय र अत्याचार बाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन्।

आजको दिन कृष्ण मन्दिरहरुका श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ । काठमाडौँ उपत्यकामा पाटनस्थित कृष्ण मन्दिर, बुढानिलकण्ठस्थित इस्कोन नेपालको प्राङ्गण लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजन पुग्ने गरेका छन्।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतन धाम, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरको श्रीकृष्ण मन्दिर, लगायत ठुलासाना सबै कृष्ण मन्दिरमा घुइँचो लाग्ने गर्छ । आज भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्दै ब्र्रत बस्ने परम्परा पनि छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा विद्यालयहरुले बालबालिकालाई श्रीकृष्ण तथा राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । पाटनको कृष्ण मन्दिरमा आज ठूलो मेला लाग्ने गर्दछ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न अर्जुनलाई उपदेश दिने क्रममा व्यक्त भएको कृष्णवाणीको संग्र्रह ‘श्रीमद्भागवतगीता’ मानव जातीको मार्गनिर्देशक ग्रन्थ मानिन्छ । गीता विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !