एकीकृत समाजवादीको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । अहिलेसम्म औपचारिक घोषणा भने भएको छैन ।
डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ ।
केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।
अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।