१२ मंसिर २०८१, बुधबार

बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल

प्रकाशित मिति :  28 August, 2024 6:26 pm


काठमाडाैँ ।नेपाललाई ४—१ को हार चखाउँदै बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।

सातदोबाटोस्थिति एन्फा खेल मैदानमा भएको खेलमा बङ्गलादेशको जितमा मिराजुल इस्लाम नायक बने । उनले दुई गोल गर्दा तेस्रो गोलको लागि असिस्ट पनि दिए । पहिलो हाफमा नेपालले बङ्गलादेशलाई गोल गर्ने केही मौका पाएको थियो । खेलको नवौँ मिनेटमा निराजन धामीले करिव ३० यार्डबाट हानेको पावरफुल प्रहारलाई गोल किपर मोगम्मद आशीफले मुस्किलले बचाए । यसको चार मिनेटपछि पनि मराजनले हानेको लङ रेन्ज प्रहारमा किपर बाधक बने ।

२१ औं मिनेटमा नेपाल फेरि चुक्यो । निराजन धामीले दिएको उत्कृष्ट क्रसमा अविनाश श्याङतानले बलसँग कनेक्ट गर्न सकेनन् । बङ्गलादेशले पनि २३ औं मिनेटमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । रेब्बी होसेन राहुलको कर्नरमा मोहम्मद रोसतोम इस्लामको हेडर थोरैले आकाशियो । खेलको पहिलो हाफको इन्जुरी समयमा मिराजुल इस्लामले पेनाल्टी बक्सको एजबाट हानेको फ्रि किक प्रहार टप कर्नरमा सुन्दर गोलमा परिणत भयो । पहिलो हाफमा नेपाल विरूद्ध बङ्गलादेश एक शुन्यले अगाडि बढ्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्कन सकेन ।

५५ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । असदुल इस्लाम सकिवको क्रसमा असदुलको ड्रप हेडरपछि मिराजुल इस्लामले गोल गरे। निरिह नेपाल विरूद्ध बङ्गलादेशले ७१ औं मिनेटमा तेस्रो गोल थप्यो । मिराजुल इस्लामको क्रसमा मोहम्मद राब्बी होसेनले गोल गरे । तीन शुन्यले पछि परेको नेपालले ८० औं मिनेटमा एक गोल फर्कायो । राम थापाको पासमा समिर तामाङले हेडर गोल गरे ।

निर्धारित ९० मिनेट ३—१ को नतिजामा सकियो । दश मिनेट थपिएको समयमा बङ्गलादेशले अर्को गोल थप्यो । मोहम्मद राब्बीकोको पासमा मोहम्मद पियास अहमदले गोल गरे । योसँगै बङ्गलादेशले सानदार शैलीमा नेपाललाई ४—१ ले हराउँदै उपाधि उचाल्यो । अपराजित रहँदै फाइनलमा पुगेको नेपालले आज निकै कमजोर प्रदर्शन ग¥यो ।

दुई पटकको विजेता नेपाल तेस्रो पटक फाइनलमा पुगेको थियो । तर नेपालको उपाधिमा ह्याट्रिक गर्ने योजना पूरा हुन सकेन । नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो । यसअघि तीन पटक उपविजेता बनेको बङ्गलादेशले पहिलो पटक उपाधि जितेको हो ।



प्रतिक्रिया दिनुहोस !