दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरूका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए ।
भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरू स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गरे ।
उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरूलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए ।
प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताए । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे ।
उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे ।