खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताएका छन् ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले विश्वका अन्य देशहरूले खेल क्षेत्रलाई उच्च महत्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताएका हुन् ।
उनले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रूपमा सहजता प्रदान गर्नुपर्ने बताए ।उनले खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि बताए ।
उनले भने, “खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीतापूर्वक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्नेछौँ ।”
मन्त्री चौधरीले खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरू कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता जनाए ।