एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते
काठमाडाैँ ।सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए ।
११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ । पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।
हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरूवात गर्ने, कमिटीहरू विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरूमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए । बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।
पार्टी पोलिटब्युरोको बैठक आगामी भदौ १८ गते दिउँसो १ बजेबाट सुरू भइ १९ गतेसम्म सञ्चालन हुनेछ । पार्टीका उपाध्यक्ष, संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेका छौँ ।
उहाँले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल