१२ मंसिर २०८१, बुधबार

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’लाई नेकपाको लिखित सुझाव

प्रकाशित मिति :  29 August, 2024 8:32 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’लाई लिखित सुझाव बुझाएको छ ।

नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समितिलाई लिखित सुझाव पठाएका हुन् । सुझाव दिन समितिले नेकपालाई पत्र पठाएर आग्रह गरेको थियो ।

नेकपाको सुझाव केन्द्रीय सदस्य दिनेशविक्रम चन्दले समिति सभापति सूर्य थापालाई आज हस्तान्तरण गरेका छन् । सिंहदरबारमा चन्दले सभापति थापालाई नेकपाको सुझाव हस्तान्तरण गरेका हुन् ।

नेकपाले सहकारी सही,आवश्यक र सम्भावनायुक्त छ भन्ने सोचलाई बलियो गरी पकड्न र प्रयोगमा लैजान जरुरी रहेको आफ्नो सुझावमा उल्लेख गरेको छ । यस्तै सहकारीको शैद्धान्तिक,नीतिगत र कानुनी मान्यतालाई कडाइपूर्वक पालना र प्रयोग गर्नुपर्ने भनिएको छ ।

सहकारीको आधारभूत शैद्धान्तिक ज्ञान हासिल गरेको व्यक्तिलाई मात्र सञ्चालनको अधिकार दिनुपर्नेमा नेकपाले जोड दिएको छ ।

सहकारीको पुँजी परिचालनमा एकजनाको सर्वाधिकार नराखी दुई,तीन जनाले सिफारिस गर्नुपर्ने व्यवस्था उचित हुने सुझावमा उल्लेख छ । निश्चित रकमभन्दा ठुलो पुँजी निकास गर्नुपरेमा उपल्लो निकायको परामर्श लिने व्यवस्था गर्नु उचित हुने सुझाव नेकपाले दिएको छ ।

सेयर सदस्य र निक्षेपकर्तालाई विश्वस्त बनाउन चारदेखि ६ महिनाको अवधिमा सहकारी पुँजीको अवस्थाबारे राज्यको निकायले जानकारी दिने व्यवस्था मिलाउन समेत भनिएको छ ।

सहकारी पुँजीको परिचालनबाट नागरिक,समाज र राज्यले पाउने लाभबारे हरेक वर्ष सार्वजनिक जनकारी गराउने व्यवस्था मिलाउनुपर्नेलगायतका सुझाव नेकपाले दिएको छ ।



प्रतिक्रिया दिनुहोस !