ट्रंकलाइन र डेडिकेटेडको विद्युत वक्यौता सरकारले जसरी पनि उठाउँछः राज्यमन्त्री तामाङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरूसँग ट्रंकलाइन र डेडिकेटेडको वक्यौता रकम जसरी पनि उठाउने बताएका छन् ।
शुक्रवार काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १८ औं साधारण सभामा बोल्दै राज्य मन्त्री तामाङले विद्युत उपभोग गर्ने तर विद्युतको रकम नतिर्ने भन्ने नहुने भन्दै ऊर्जा राज्यमन्त्री भएको अवस्थामा नै व्यवसायीहरुबाट रकम उठाउने बताएका हुन् । राज्य मन्त्री तामाङले ८० रुपैयाँको डण्डी १२० रुपैयाँ बेच्ने तर सरकारलाई विद्युतको रकम नबुझाउने छुट नभएको बताए ।
उनले अहिले ठूला व्यापारीहरुले देशमा एक्लौटी रुपमा विद्युत उपभोग गर्ने पैसा नतिर्ने भन्दै मिनाह गर्न सरकारसँग माग गरे पनि व्यापारीहरुबाट विद्युतको रकम उठाएर छाड्ने उल्लेख गरे । उनले डण्डी र सिमेन्ट व्यवसायीहरुको कारणले १ हजार निर्माण व्यवसायीहरु कालोसूचिमा परेको भन्दै उनीहरुबाट विद्युत वक्यौता रहक उठाएरै छाड्ने बताए । उनले जलविद्युतको विकास गर्नसके मुलुकको २४ खर्बको सार्वजनिक ऋण विद्युत निर्यात गरेर तिर्नसक्ने बताए । उनले सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुक नै लिलाम हुने अवस्थामा पुगेको बताउनु भयो । उहाँले अन्य देशले ऋण दिएपछि उठाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नयाँ सरकार आएपछि भुक्तानी पाउने आशा गरे पनि अपेक्षाअनुसार काम नभएको गुनासो गरे । उनले दुई ठूला पार्टी मिलेर सरकार बनाए पनि निर्माण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकेको उल्लेख गरे । उनले सरकारले निर्माण उद्योग चलायमान बनाउन नसक्दा अर्थतन्त्र समेत चलायमान हुन नसकेको बताए ।
उनले सरकार बनेको दुई महिना पुग्दा पनि कस्मेटिक रुपमा निर्माण उद्योगको समस्या सम्बोधन गरी भुक्तानी दिएको भनिए पनि वास्तविक रुपमा निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको बताए ।