३१ भाद्र २०८१, सोमबार
नाबालिका घरेलु कामदार प्रकरण

रेखाकुमारी शर्मा : सचेतकको जिम्मेवारी मात्रै खोसिएन मन्त्री बन्ने अवसर समेत गुमाइन्,बालेनले खेद्दै

प्रकाशित मिति :  2 September, 2024 8:09 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ १६ गते सामाजिक सञ्जालमा नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माको फोटो हाल्दै भने,“वहाँ (उहाँ) हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ(उहाँ)ले बिगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ ।”

मेयर शाहले थप लेखेका छन्,“काठमाडौं महानगरले बिगत २ महिनादेखि कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत दबाब दिएका छन् ।

मेयर शाहले भनेका छन्,“सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यू , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ ।”

प्रधानमन्त्री ओलीलाई दाबाब दिँदै मेयर शाहले भनेका छन्,“सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??”

प्रकरण के हो ?

शर्मा लुम्बिनी प्रदेश सभा सदस्य हुन् । उनी नेकपा एमालेबाट समानुपातिक सांसद हुन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँमा रहेको शर्माको घरबाट श्रमिकको रुपमा राखिएकी नाबालिकाको केही समय पहिले उद्दार गरेको थियो ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।

उनलाई यातना समेत दिएको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको छ । बालेनले सोही विषयलाई जोडेर शर्मा पक्राउबारे प्रश्न उठाएका हुन् ।

अफ्ठेरोमा शर्मा

शर्मा लुम्बिनी प्रदेशमा महासचिव शङ्कर पोखरेल निकट मानिन्छिन् । यो प्रकरणपछि उनी पार्टीभित्र देखिने गरी कारबाहीमा त परेकी छैनन् तर सचेतकबाट जिम्मेवारी खोसिएको छ ।

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि दलको नेता समेत चुनिए । सोही समयमा शर्मालाई सुटुक्क सचेतकको जिम्मेवारीबाट हटाइयो ।

शर्मा यसपटक लुम्बिनीमा मन्त्रीको प्रमुख दाबेदार समेत थिइन् तर अवसर पाइन् माओवादी पृष्ठभूमि भएकी,सीता चौधरीले ।

स्रोतका अनुसार शर्मा विवादमा तानिएपछि चौधरीलाई मन्त्री बनाइएको थियो ।

लुम्बिनी एमाले स्रोतले भन्यो, “उहाँलाई देखिने गरी कारबाही त गरिएको छैन तर सचेतकको जिम्मेवारीबाट हटाएको छ भने मन्त्री बन्ने अवसर पनि उहाँले गुमाउनुभएको छ । बाँकी त सबै हामीले भन्ने विषय भएन ।”



प्रतिक्रिया दिनुहोस !