विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो
काठमाडाैँ । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।
सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले बताएकी हुन् ।उनले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिइन् । समितिको अब बस्ने बैठकमा मस्यौदा प्रश्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन्।
समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताए । उनले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने बताए ।
दफावार छलफलका क्रममा सांसदहरूले सशक्त रूपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।