३१ भाद्र २०८१, सोमबार

इन्जिनियर्स एसोसिएसन निर्वाचनः बरालको प्रभावकारी योजनासहित देशव्यापी दौडाहा

प्रकाशित मिति :  3 September, 2024 1:20 pm


काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा, लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले आफ्नो चुनावी अभियानलाई थप सक्रिय बनाउँदै देशव्यापी दौडाहा गरेका छन्।

आफ्नो टिमसहित उनले चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, झापा लगायतका स्थानहरूमा ईन्जिनियरहरूसँग अन्तरक्रिया गर्दै आएका छन्।

बरालले आफ्नो अभियानमा ‘ईन्जिनियरिङ समुदायको समुन्नतिःदशकको दृष्टिकोण’ भन्ने नारा अघि सारेका छन्। उनी मात्र नभई सम्पूर्ण ईन्जिनियरहरूको वृत्ति विकासलाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईन्जिनियरहरूले पनि लिनुपर्नेमा जोड दिँदै, उनले यसका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बरालले प्रदेश तथा स्थानीय तहमा ईन्जिनियरिङ प्रशिक्षणलाई थप सशक्त बनाउने योजना पनि अघि सारेका छन्। यसले प्रदेश र स्थानीय तहमा नेतृत्व विकास गर्ने र अवसर सिर्जना गर्ने उनको विश्वास छ। राज्यका विकास योजनामा हालसालै ईन्जिनियरिङ अध्ययन पूरा गरेका नयाँ ईन्जिनियरहरूलाई संलग्न गराएर, रोजगार र क्षमता अभिवृद्धिमा सघाउन सकिने बरालको योजना रहेको छ।

बरालको विचारमा, यो कदमले राज्यलाई सुलभ र सक्षम जनशक्ति प्रदान गर्नेछ, जसले विकास कार्यहरूलाई पनि थप प्रभावकारी बनाउनेछ। उनले प्रदेश र स्थानीय तहमा विकासका कामको चापलाई ध्यानमा राख्दै, ईन्जिनियरहरूको संख्यामा वृद्धि गर्न राज्यका विभिन्न तहहरूसँग पहल गर्ने योजना पनि राखेका छन्।

सिभिल ईन्जिनियरिङ क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका बरालले, यसपालीको निर्वाचनमा आफ्नो प्रष्ट र प्रभावकारी योजनासहित सक्षम टिमको साथमा चुनावी मैदानमा उत्रिएका छन्। उनी यस अभियानमा पनि सफल हुनेमा विश्वस्त देखिएका छन्। बरालका अनुसार, राज्यले ईन्जिनियरहरूको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने समय आएको छ, र यसका लागि उनले दृढताका साथ नेतृत्व गर्ने योजना बनाएका छन्।



प्रतिक्रिया दिनुहोस !