राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले माफी मागिन्
काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छन् ।मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन्।
राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाइ थियो । उनले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् ।
सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारको रूपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिइन् । उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदुत राम्रो रहेको र उनीहरूले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गरिन् ।
उनले भनिन्, “राजदुत सिफारिसको बारेमा म पनि यो एकनलेज गर्छु कि जति हुनुपर्ने समावेशी, त्यो भएको छैन । र हामी यसलाई कसरी गर्ने भनेर मधेसको नै कोही अझ एउटा ठाउँ खोली छ । त्यसमा हामी ल्याउन ट्राई गरिराखेका छौं । र दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तीहरुमा दलित प्लस मुस्लिम यो दुई वटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी । तर जति जनाको पनि सिफारिस भएको छ । यो राम्रैसँग हेरेर नै सिफारिस भएको जस्तो मलाई लागेको छ ।”
परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताइन् ।
उनले संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाइ राजदुतहरूको नियुक्तिको लागि थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको समेत बताइन् ।
बैठकमा सांसदहरूले राजदुत नियुक्ति समावेश नभएको भन्दै त्यसलाई आगामी दिनमा सच्याउन अघि बढन परराष्ट्रमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।