३१ भाद्र २०८१, सोमबार
लुम्बिनी प्रदेश

नमुना प्रदेश राजधानी : देउखुरीमा बनिरहेकाे छ भव्य प्रदेश प्रशासनिक केन्द्र

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ६ तला र ९६ कोठा
प्रकाशित मिति :  3 September, 2024 3:32 pm


दाङ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण तीब्र गतिमा अगाडि बढेको छ ।

एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।

कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढेको जानकारी दिए ।

राप्ती उपत्यका देउखुरीस्थित प्रदेश राजधानीलाई मुलुककै उत्कृष्ट र व्यवस्थित बनाउन सरकारका प्रशासनिक भवनलाई नमुना बनाउने गरी निर्माण कार्यलाई अगाडि बढाएको इञ्जिनियर भट्टराईले जानकारी दिए ।

२०८२ पुस १७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शर्मा सुगन जेवी कम्पनीले निर्माणको जिम्मा लिएर निर्माण कार्य अगाडि बढाएको भन्दै इञ्जिनियर भट्टराईले हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ६ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, मिटिङ हल र मल्टिप्रपोज हलसहित ९६ कोठा रहनेछन् । जसमा २ वटा लिफ्ट रहनेछन् भने भुइँ तला अपाङ्गमैत्री हुने भट्टराईले जानकारी दिए ।

मण्डला आकारमा निर्मित मन्त्रालयका प्रशासनिक भवनले मुलुकमै फरक पहिचान स्थापना गर्ने इञ्जिनियर भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य ९ वटा मन्त्रालयका भवनहरू ५ तलाका हुनेछन् र हरेक भवनमा ५४ वटा कोठा रहनेछन् । सम्पूर्ण भवनमा लिफ्ट, अपाङ्गमैत्री सुविधा, अण्डरग्राउण्ड पार्किङ्गको व्यवस्था हुने भट्टराईले जानकारी दिए ।

भ्याटबाहेक ३ अर्ब ९ करोड रुपैयाँ बराबरको लागतमा निर्माण हुने संरचनाअन्तर्गत सडक सञ्जाल निर्माण, बगैचा निर्माणका आयोजना समेटिएको इञ्जिनियर भट्टराईको भनाइ छ ।

प्रदेश गौरवको आयोजनाका रुपमा रहेको आयोजना भएकाले बजेटको हभाव नहुनेमा उनले विश्वास व्यक्त गरे ।

“प्रदेश राजधानीलाई मुलुककै उत्कृष्ट बनाउने अभिप्रायले मन्त्रालयका नमुना प्रशासनिक भवन निर्माणलाई तीब्र बनाउँदै लगेका छौं”, इञ्जिनियर भट्टराईले भने, “राज्यको गौरवको आयोजना भएकाले बजेट अभाव हुँदैन भन्नेमा हामी विश्वस्त छौं । माननीय मुख्यमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी हामी अगाडि बढेका छौं ।”

मुख्यमन्त्री चेतनारायण आचार्यले समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।

प्रदेशको राजधानी सम्बन्धि निर्णय गर्दा मुलुककै उत्कृष्ट राजधानी बनाउने उद्घोष गरेको सपना पुरा हुँदै गएको भन्दै मुख्यमन्त्री आचार्यले एउटै हाताभित्र निर्माण हुने सरकारका प्रशासनिक भवन मुलुककै नमुनायोग्य हुने बताए ।

“नमुना राजधानी निर्माणको सपना पूरा हुँदैछ । हामीले लिएका संकल्प पुरा हुँदै छन्”, मुख्यमन्त्री आचार्यले भने, “निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छौं । बजेटको कुनै अभाव हुन दिने छैनौं । लुम्बिनी प्रदेशको प्रशासनीक संरचना मुलुककै अनुकरणीय नमुना बन्नेछ ।”

यो परियोजना सफलतापूर्वक सम्पन्न हुँदा लुम्बिनी प्रदेशले मुलुकभर उदाहरणीय स्थान बनाउने बताउँदै मुख्यमन्त्री आचार्यले थपे, “लुम्बिनी प्रदेशको नमुना राजधानीले देशभरका अन्य प्रदेशहरूलाई मार्गदर्शन गर्नेछ । यसले अन्य प्रदेशहरूलाई पनि प्रेरणा दिने विश्वास गरेका छौं । एउटै हाताभित्रबाट प्रदेश सरकारका सबै कार्यसम्पादन सम्पन्न गरिनेछ । जसले समय र स्रोतको अधिकतम उपयोगलाई सुनिश्चित गर्नेछ ।”

प्रदेश स्थापना दिवसको अवसरमा २०७९ फागुन ३ गते तत्कालिन मुख्यमन्त्री लीला गिरीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनको शिलान्यास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !