सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप गर्ने तयारी
काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो । बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन्।
प्रस्तुत प्रस्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।