राष्ट्रपति समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेशः कार्यक्रमतर्फ बजेट शुन्यता रहेको गुनासो
काठमाडाैँ । भाषा आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
बुधवार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले आयोगको आठौं प्रतिवेदन (आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन) राष्ट्रपति पौडेललाई बुझाएको बताए ।
उनले प्रतिवेदनमा भाषा आयोगले गरेका काम, भाषा आयोगले गरेका सिफारिस र आयोगलाई परेका कठिनाइहरूका बारेमा उल्लेख गरिएको बताए । आयोगलाई २०८०\०८१ मा कार्यक्रमतर्फ बजेट शुन्यता रहेको गुनासो गर्दै अपेक्षाकृत रूपमा कार्यक्रमहरू अघि बढाउन नसकेको बताए ।
उनले आदिवासी भाषा दशक सन् २०२२ देखि ०३२ मा अपेक्षित काम गर्न नसकेको, लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिलेखीकरणका कामहरू, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरू अघि बढाउन नसकेको जिकिर गरे । बजेट अभावका कारण अनुसन्धान गराइरहेका कयौँ अमूल्य निधीहरूको प्रकाशन गर्न नसकेको पनि बताए ।
नेपालको संविधानको धारा २८७ अनुसार भाषा आयोग गठन भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषाहरू बोलिन्छन् ।