देशलाई दुई दलिय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् ।
बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलिय शासनतिर लान खोजिएको बताएकाे अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भुमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिएको उनको भनाइ छ ।
“सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने छ । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरू, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ । दुई दलिय शासनतिर देशलाई लान खोजिएको छ,”उनले भने ।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरित भएको बताए । प्रधानन्त्रीले वृहत शान्ति सम्झौताको विपरित बोलेकाे उनले बताए । उनले नेकपा हुँदा दस्तावेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए । प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजिपती, विचौलिया र माफियाहरूको पक्षमा छ भन्ने स्पष्ट भएको बताए ।