३१ भाद्र २०८१, सोमबार

फुटपाथ खाली गर्न सडकमा निस्किए मेयर र उपमेयर

प्रकाशित मिति :  4 September, 2024 5:20 pm


दाङ । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित अनुगमनमा निस्किएका हुन् ।

बजार व्यवस्थापक र प्रहरीसहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गर्यो । तर, उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान नै जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । “व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो”, नगर प्रमुख खड्काले भने, “व्यापार गर्ने कोठामा हो । सटकपेटीमा होइन । त्यसैले त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौं ।”

सटकपेटीमा सामान राख्नाले यात्रु बिच सडकमा हिडुनुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । बजारलाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ ।

अबदेखि बजारमा सटरभन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । अनुगमनका क्रममा व्यापारीलाई सचेत गराइएको भन्दै उनले अबदेखि सटरभन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरीवाना समेत गरिने उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !