११ मंसिर २०८१, मंगलबार

राष्ट्रपति पौडेल र सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूबिच भेटवार्ता

प्रकाशित मिति :  5 September, 2024 5:31 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र दक्षिण एसियाली मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूबिच भेटवार्ता भएको छ ।

सार्क मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनमा सहभागी हुन नेपाल आएका प्रमुख निर्वाचन आयुक्तहरूले बिहीबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने बताएका थिए । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्न निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एसियाका मुलुकमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए ।

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग संस्थाका साझा उद्देश्य प्राप्त गर्न र चुनौतीविरुद्ध सामूहिक रूपमा सामना गर्न आपसी सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहने पनि स्पष्ट पारे ।

भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !