३१ भाद्र २०८१, सोमबार

सरकारी अस्पतालको अनुगमनलाई प्रभावकारी बनाउन सांसदहरूको जोड

प्रकाशित मिति :  5 September, 2024 6:10 pm


काठमाडाैँ । सांसदहरूले सरकारी अस्पतालहरूको अनुगमनलाई प्रभावकारी बनाउन जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अधिकांश सांसदहरूले सरकारले अस्पतालको अनुगमन एवं निरीक्षणमा आवश्यक ध्यान दिन जोड दिएका हुन् ।

उनीहरूले अस्पतालमा उपलब्ध हुने खाना, औषधि, फोहोरको बारेमा सरकारले विशेष चासो दिएर अनुगमन गर्नुपर्नेमा जोड दिए । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अस्पतालमा निःशुल्क पाइने भनेका औषधिहरु अस्पताको फार्मेसीमा नपाइने तर बाहिर राखिएका फार्मेसीमा पैस तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै अनुगमनमा जोड दिन आग्रह गरे । उनले सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा बिरामीहरु मनोवैज्ञानिक रूपमा झनै कमजोर हुने गरेको बताए ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले अनियन्त्रित रुपमा न्युट्रास्युटिकलहरू, पोषण परिपूरक, डाइट सप्लिमण्ट भन्ने ओमेगाथ्रिको क्याप्सुलहरु दिने काम भइरहेको भन्दै निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले जण्डिस, शरीरका अंगहरू सानो, ठूलो बनाउन, हर्मोनका लागि यस्ता क्याप्सुलहरु विक्री हुने गरेको भन्दै निरीक्षण गरी कारबाही गर्न माग गरे । उनले औषधि स्वास्थ्य विभागमा दर्ता पनि नभएका औषधिहरू बजारमा विक्री भइरहेको बताए ।

बैठकमा नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जथाभावी औषधि विक्री वितरण भइरहेको भन्दै निगरानीमा ध्यान दिन दबाब दिए । उनले भरपर्दो हिसावले सही शुल्कमा नागरिकले औषधि पाउने सुनिश्चितता सरकारले दिनुपर्ने बताए । उनले अस्पतालमा डेस्क नै नहुने र कतिपय डेस्क रहेका अस्पतालहरूमा सूचना दिने मानिस नै नराखिएको भन्दै सरकारले हरेक अस्पतालमा सूचना दिनका लागि र सोधपुछका लागि एउटा डेस्क अनिवार्य गर्ने व्यवस्था सुरू गर्नुपर्ने बताए ।

समितिको बैठकमा अन्य सांसदहरूले अस्पताललाई व्यवस्थित र सफा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले अस्पतालमा बिरामी कुर्न गएका कुरुवाहरु नै बिरामी भएर आउने अवस्था रहेको गुनासो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !