३१ भाद्र २०८१, सोमबार

रोल्पामा रास्वपाको नेतृत्वमा अवरुद्ध सडक सुचारू

प्रकाशित मिति :  6 September, 2024 2:34 pm


काठमाडाैँ । पश्चिम रोल्पाको सिस्ने गंगादेव सडक खण्ड अन्तर्गत माडी गाउँपालिकाको दाङबाङ गाउँमा सडक सुचारू गरिएको छ ।

उक्त सडक भदौ १ गते राती परेको अविरल वर्षाले अवरुद्ध भएकोे थियो । अवरुद्ध सडक खुलाउन कतैबाट पहल नभए पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पा सम्बद्ध युवाहरूको नेतृत्वमा सडक सुचारु गरिएको हो । अवरुद्ध सडक घोराही थबाङ शहीद मार्गको सिस्ने देखि नौं किलोमिटरको दूरीमा रहेको छ ।

सडक खुलाउन भाडामा स्काभेटरको प्रयोग गरिएको छ । स्काभेटरलाई लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन स्थानिय बुद्धिजीवी तथा व्यवसायी बल बहादुर घर्तीमगरले गरेका छन ।

“जनताको दैनिकीसँग जोडिएको अवरुद्ध सडक खुलाउन कतैबाट पहल भएन । हामी रास्वपाका युवाहरुको नेतृत्वमा सडक खुलाउन अग्रसर भयौं ।” बुद्धिजीवि घर्तीमगरले भने “जनताको दैनिकीसँग जोडिएको विषयमा सम्बद्ध निकायको समयमा चासो होस् भन्ने उद्देश्यले हामीले सडक खुलाएका हौं । सडक खुलाउँदा लागेको सम्पूर्ण खर्चको व्यवस्थापन म आफैंले गरेको छु ।”

महिना दिन बित्न लाग्दा पनि अवरुद्ध सडक खुलाउन स्थानिय सरकारले चासो नदिए पछि आफूहरुको नेतृत्वमा सडक सुचारु गरिएको रास्वपाका पार्टी सदस्य तुल्सीराम घर्तीमगरले जानकारी दिए । “चाडपर्वको समय नजिकिदै गर्दा अवरुद्ध सडक खुलाउन स्थानिय सरकार र जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने हो । तर कतैबाट चासो दिइएन,” उनले भने, “जनताको दैनिकीसँग जोडिएको विषयमा तत्काल पहल गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न हाम्रो नेतृत्वमा सडक सुचारु गरेका हौं । सडक सफा गर्ने नाममा खाइने कमिसन बन्द गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो ।”

सिसिस्ने गंगादेव सडक स्तरोन्ति गर्न गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले पहल नगरेको स्थानीय चन्द्र बहादुर घर्तीमगरले गुनासो गरे । उनले भने “यो बाटो बनेको धेरै वर्ष भई सक्यो । वर्षायाममा सधैं पहिरो झरेर बाटो बन्द हुन्छ । गाउँपालिकाले पनि हेर्दैन । आज बाटो खुल्दा गाउँलेहरू खुशी छन ।”

स्थानीय सरकारले अवरुद्ध सडक सुचारु गर्न पहल नगरे पनि रास्वपा सम्वद्ध युवाहरूको नेतृत्वमा सडक सुचारू हुनुले स्थानीय सरकारलाई दबाव परेको स्थानिय समृद्धि युवा क्लवका अध्यक्ष राज कुमार घर्तीमगरले बताए । उनले भने, “यहाँको सडक खुलाउने काम स्थानिय सरकारको हो । स्थानिय सरकारले चासो नदिए पछि रास्वपा सम्बद्ध युवाहरूले चासो दिनु राम्रो पक्ष हो । हामी युवाहरूले त राम्रो काम गर्नेलाई यो वा त्यो नभनीकन सहयोग गर्ने हो ।”



प्रतिक्रिया दिनुहोस !