३१ भाद्र २०८१, सोमबार

एउटै नम्बरको पाँच वटा मोटरसाइकल फेला, दुई जना पक्राउ

प्रकाशित मिति :  6 September, 2024 5:51 pm


काठमाडौँ । एउटै नम्‍बर प्लेट भएको पाँच वटा मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच वटा मोटरसाइकलमा एउटै नम्बर रहेको फेला पारेको हो।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ स्थित मध्य बानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हाे ।

शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा एकै नम्बर प्लेटका पाँच वटा मोटरसाइकल फेला परेको छ । टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका वडा नम्बर २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाइकल सहित नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको छ । उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

अनुसन्धान गर्दै जाँदा करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी १५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको उनले बताए । बास्तबिक नम्बर बा।प्र।०२–०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको छ ।

थप सूचनाको आधारमा नियन्त्रणमा लिएको बास्तबिक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस.भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । उक्त मोटरसाईकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाईकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उक्त मोटरसाईकललाई नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भैरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !