३१ भाद्र २०८१, सोमबार

पशुपति मन्दिरको व्यवस्थापन राम्रो भयो, दर्शनार्थीले सहज रूपमा दर्शन गर्न पाएः मन्त्री पाण्डे

प्रकाशित मिति :  6 September, 2024 6:27 pm



काठमाडाैँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूले सहज ढंगले दर्शन गरेका बताएका छन्।

शुक्रवार पशुपतिनाथ मन्दिरमा अवलोकनका लागि पुगेका मन्त्री पाण्डेले तिजको अवसरमा दर्शनार्थीहरूले पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शन गर्न पाएका बताएका हुन् । उनले आफूले दर्शनार्थी महिलाहरूसँग प्रतिक्रिया लिएको भन्दै सबैले सहज रुपमा दर्शन गर्न पाएको बताएका जानकारी दिए ।

उनले तिजको अवसरमा मन्दिर दर्शनका लागि पशुपतिनाथ मन्दिरको व्यवस्थापन राम्रो भएको पाएको बताए । उनले पशुपतिनाथ मन्दिरमा व्यवस्थापन राम्रोसँग गर्न सकेमा जति धेरै दर्शनार्थीहरू आउँदापनि समस्या नहुने रहेछ भन्नेमा विश्वास जागेको पनि बताए ।

उनले तिजको नाममा भड्किलो गतिविधिहरु हुने गरेको आवाज उठेको भन्दै आगामी दिनमा विकृति, विसंगतिहरुलाई त्याग्दै चाडपर्व मनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !