३१ भाद्र २०८१, सोमबार
निजामती सेवा दिवस

राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीले खेलेको भूमिका प्रसंशनीय–प्रधानमन्त्री ओली

प्रकाशित मिति :  7 September, 2024 6:53 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले खेलेको भूमिका प्रसंशनीय रहेको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले परिवर्तनका लागि निजामती कर्मचारीहरुले प्रत्यक्ष र परोक्ष दिएको योगदान प्रशंसायोग्य भएको जनाएका हुन् ।

तानाशाही बिरुद्ध निजामती कर्मचारीहरुको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको भन्दै शुभकामना सन्देशमा दिवसको अवसरमा संघर्षका दौरानमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै पीडितहरुप्रति सहानुभूति प्रकट गरिएको छ ।

“कर्मचारीहरुले सहभागीता जनाएका र योगदान पुर्याएका आन्दोलनहरु सफल भएका पनि छन् र कर्मचारीहरुका मागहरु पनि क्रमशः पूरा हुँदै गएका छन् । आज देशमा लोकतन्त्र छ । लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ”, शुभकामना सन्देशमा भनिएको छ, “अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।”

सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतीक आचरण, इमान्दारीता र पेशागत निष्ठा अनिवार्य हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

“नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुुँदै गएको छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पुर्याइ जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ”, शुभकामना सन्देशमा भनिएको छ, “निजामती सेवाको यस्तो भूमिकामार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने छ । राष्ट्रको यस आकांक्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता छ ।”

निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासाहरुलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुलाई ओलीले आग्रह गरेका छन् । “व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २१ औं निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !