३१ भाद्र २०८१, सोमबार
पुरा भयो राप्तीबासीको सपना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिट सुनिश्चित

प्रकाशित मिति :  7 September, 2024 8:10 am


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बी.बी.एस. पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि एम.बी.बी.एस.तर्फ ५० सिट सुनिश्चित गरेसँगै लामो समयदेखि पर्खाइमा रहेका राप्तीबासीहरुको सपना पुरा भएको छ ।

आयोगको निर्णयसँगै ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एम.बी.बी.एस. अध्ययन गर्न पाउने प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।

स्थापनाको ७ वर्षपछि एम.बी.बी.एस. अध्यापनको अनुमति प्राप्त गरेको भन्दै रजिष्टार लम्सालले प्रतिष्ठानको विकासका लागि भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । “एम.बी.बी.एस. अध्यापन अनुमतिले हामीलाई उत्साहित बनाएको छ । प्रतिष्ठानका लागि यो धेरै महत्वपूर्ण कुरा हो”, रजिष्टार लम्सालले भने, “दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ । सात वर्षदेखिको मिहिनेतले सार्थकता पाएको छ । यो अवसरमा प्रतिष्ठानको विकासका लागि भूमिका खेल्ने सम्पूर्णका कृतज्ञता ज्ञापन गर्दछु ।”

प्रतिष्ठानमा हाल बिएस्सी नर्सिङ, वि.एन.एस.नर्सिङ र एमडीतर्फ एमडी इन जनरल प्राक्टिस, गाइनो, हाडजोर्नी विषयमा अध्यापन भइरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बी.बी.एस. कार्यक्रम सुरु गर्न निर्देशन दिएका थिए । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको पहलकदमीमा प्रतिष्ठानले एम.बी.बी.एस. का लागि अध्ययन अनुमति प्राप्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस !