३१ भाद्र २०८१, सोमबार

निजामती सेवा दिवस : जनउत्तरदायी भई सेवा प्रवाहमा जुट्न मुख्यमन्त्रीको आह्वान

प्रकाशित मिति :  7 September, 2024 11:44 am


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिबार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गरेका हुन् ।

कर्मचारीप्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । “हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी विषय महत्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “कर्मचारीप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी छ ।”

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरुलाइ पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिए । “छिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुनको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छाैं”, उनले भने, “विनम्रताका साथ अनुरोध गर्न चाहन्छु । हामीले कानुनको गाँठो पारेर, त्यो शिरानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्न तिर लाग्न जरुरी छ ।”

मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राखे । “मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खोज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटीको विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन् ।”

यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोगमार्फत् झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !