३१ भाद्र २०८१, सोमबार
निजामती सेवा दिवस

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  7 September, 2024 3:18 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

एक्काइसौं निजामती सेवा दिवसको अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गरे । उनले भने, “तपाईंहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईंहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरू केही गर्न नसके पनि ‘चिन्या छु’ भनेर मुसुक्क हाँसिदिनुस् । म चुनौती दिएर भन्छु–म आफैं पनि भ्रष्टाचार गर्दिनँ । अरूलाई पनि गर्न दिन्नँ । नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।”

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेको उल्लेख गर्दै संविधान र कानुनका व्यवस्थासँगै इमान, कर्तव्य, र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नेतृत्व लिएका पार्टीहरूको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्न छलफल अघि बढाउने विश्वास दिलाए । उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताए । उनले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने जस्ता काम उचित नहुने बताए ।

“अहिले नियोजित र प्रयोजित रूपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूले एकैपटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए ।



प्रतिक्रिया दिनुहोस !