३१ भाद्र २०८१, सोमबार

उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदान–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  7 September, 2024 6:20 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दूधमा दिँदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् । “साथीहरुले यहाँ कुरा उठाउनु भयो दूधको विषयमा । किसानहरुलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिँदै आएको छ । यो रकमलाई बढाउने विषयमा छलफल अघि बढ्छ”, उनले भने, “किसानहरुलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।”

यस्तै मुख्यमन्त्री आचार्यले सुन्तलाको सुरक्षित भण्डारणका लागि प्रदेश सरकारले योजना बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम बढाउन माग राखेका छन् । सरकारले दिने अनुदानले युवा पुस्तालाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नेगरी रकम विनियोजन गर्न माग राखिएको हो ।

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारेका छन् । सरकारले पुरक बजेट ल्याउने हो कि ? बजेट रकमान्तरण गर्ने हो कि ? जस्ता प्रश्नहरु सुनिन थालेपछि मुख्यमन्त्री आचार्यले वर्तमान सरकारले पुरक बजेट नल्याउने र बजेट रकमान्तरण नगर्ने स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस !