खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी होः सभापति देउवा
काठमाडाैँ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् ।
आइतवार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे । सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरे ।
“खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैव सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । खेलाडीहरू राष्ट्रका गहना हुन् । नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ,” उनले भने ।
नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।