१ आश्विन २०८१, मंगलबार

हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुन्छः पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति :  8 September, 2024 6:27 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् ।

नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए । आइतवार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पारे । उनले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताए ।

उनले भने, “दुर्घटनापछि जाँचबुझका लागि समितिहरू बन्छन् । त्यो समितिले कामहरू त गर्दछन् । तर त्यसको निरन्तरता, त्यसको अविछिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन । र जाँचबुझ हुने सन्दर्भमा प्रोफेसनालिज्म पनि रहँदैन भनेर अरु देशमा पनि भएको प्राक्टिस जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको आवश्यक्ता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट पनि बनाउने क्रममा छौँ हामी । त्यो पनि होमवर्क भइरहेको छ । म त्यो पनि जानकारी गराउन चाहन्छु । “

मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरूलाई बिमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !