पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः बर्तौला
काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन् ।
उनले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गरे। प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताए ।
उनले भने, “हामीले यो छापा मिडियाहरू मार्फत सुन्यौ, थाहा पायौं कि यो विशेष गरी सशष्त्र द्धन्द्धकै समयमा बिछयाइएको बमहरू, छोडिएका बमहरू, फ्याँकिएका बमहरू नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरू विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ ।”
प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरू राखेको छन् ? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।